उपनिवेशदेखि
उपनिवेशको यात्रा – डा. युवराज संग्रौला
किताबी अनुभव -१
उपनिवेशवादको रक्तरञ्जित इतिहास
यो पुस्तकको पहिलो भाग पढेर सक्दा यस्तो लाग्यो कि किताब पढिरहेको नभई युद्ध, हत्या हिंसाको फिल्म हेरिरहेको छु । रक्ताम्य चिच्याहाट, बलात्कार, जताततै मानिसहरूको लास मानिसहरू मरिरहेको देखिरहेको जस्तो भान हुन्छ । लेखक डा.संग्रैालाको पुस्तक निःसङ्कोच अभिव्यक्ति पहिला नै पढिसकेकाले लेखकको यो पुस्तक पढ्न रुचि बढ्ने नै भयो । विद्यालय स्तरमा हामीले पढ्ने कोलम्बसले अमेरिका पत्ता लगाए भन्ने सम्म मात्र थियो तर कोलम्बसले अमेरिकामा प्रवेश गरेपछि त्यहाँ रहेका आदिवासीहरू माथि गरिएको अत्याचारको पराकाष्ठा यो भागमा पढ्न पाउँदा अचम्ममा परे । सबै ठाउँको इतिहास जित्नेको मात्र हुन्छ । सत्ताले जति देखाउन चाहन्छ जति पढाउन चाहन्छ त्यति मात्र इतिहास लेख्ने गर्छन् भन्ने कुरा यो पुस्तक पढ्दा सचेत बनायो ।
यस भागमा देशहरूलाई कसरी उपनिवेश बनाइन्छ ? युरोपेली देशहरूले अरू देशहरू लाई उपनिवेश बनाउँदै गर्दा त्यस देशका आदिवासी जनजातिहरू माथि गरिएको अत्याचार, हत्या, बलात्कार, स्रोत साधन माथिको हस्तक्षेप र लुट, भाषा, कला, साहित्य, संस्कृति र धर्म माथि जबरजस्त दमन र परिवर्तन कसरी गर्छन् भन्ने कुरा पढ्न पाइन्छ । युरोपेलीहरू ले अमेरिकाका आदिवासीहरूमाथि गरेको सामूहिक अत्याचार र लुटपाटको विस्तृत विवरण पुस्तकको पहिलो भागमा समेटिएको छ। युरोपले एसियालाई एसिया रहन दिएन । अफ्रिकालाई अफ्रिका हुन दिएन । अमेरिकालाई अमेरिका रहन दिएन । ती भूभागहरूमा दम्भ, अहंकार, कब्जा र प्रभुत्ववादको मनोविज्ञानले उपनिवेशवादको नीति अंगिकार गर्यो ।
केन्याका प्रथम राष्ट्रपति जोमा केन्याको भनाइमा "रिलिजन प्रचारकहरू आउँदाको बेलासम्म हाम्रा हातमा जमिन थिए, उनीहरूको हातमा बाइबल थियो । उनीहरूले हामीलाई प्रार्थना गर्न सिकाए । हामीले आँखा चिम्लिएर प्रार्थना गर्यो । प्रार्थना सकेर हामीले आँखा खोल्दा हाम्रो जमिन उनीहरूको हातमा पुगेको थियो र उनीहरूको बाइबल हाम्रो हातमा । आज पनि तिनले बोकाएका बाइबल हाम्रा हातमा छन् । ती यसरी टाँसिएका छन् कि हामी हाम्रो जमिन समात्न सक्दैनौं । आफ्नै जमिन हाम्रा लागि बिरानो भएको छ र जमिनका लागि हामी बिरानो भएका छौं । हाम्रो जमिनको बास्ना हाम्रो शरीरमा छैन । हाम्रो शरीरमा केवल पराई संस्कृतिको गन्ध छ ।" १६औं शताब्दीदेखि विश्व भरि उपनिवेशवादले मानिसको ज्यान लिन्थ्यो । मानिसको सांसारिक आस्था परिवर्तन गर्थ्यो । आदिवासीहरूको जमिन लुट्थ्यो र उनीहरूलाई दासमा परिणत गरि युरोपमा जनावर झैँ विक्री गर्थे । मानिसहरूको व्यापार बाट आम्दानी गर्थ्यो ।
कोलम्बस र उसका सहयोगीहरु क्यारेबियन तटमा आइपुग्दा आरावाक जातिका मानिसहरु दौडधूप गर्दै उनीहरू भएको ठाउँमा पुगे । कोलम्बस लेख्छन् "उनीहरूले हामीलाई कटन (सूती) धागोका हल्लाहरू, भालाहरू, खानेकुरा ल्याइदिए । उनीहरू सुगठित, सुदृढ शरीर भएका हट्टाकट्टा थिए । उनीहरू हतियार बोक्दैनथे । मैले तरबार देखाउँदा उनीहरू तरबारको धार देखेर छक्क परे । नजानेर हात काटे । उनीहरू असल र अहिंस्रक थिए । सधारिएका जनावर जस्तै ती हामीले चाहे अनुसारका दास बन्ने खालका थिए । हामी ५० जनाले उनीहरू सबैलाई अधीनमा राख्न गार्हो थिएन ।" कोलम्बस थप लेख्छन् , 'तीमध्ये केहीलाई मैले समातेर बन्दी बनाएँ । उनीहरूबाट सूचना चाहिएको थियो । सबैभन्दा जरुरी सूचना सुनको बारेमा चाहिएको थियो । ती मानिसहरूलाई सुन कहाँ छ भनी बाटो देखाउन समातिएको थियो । कोलम्बस्ले स्पेनका राजालाई चिठ्ठी लेख्यो । उसलाई एसिया आईपुगेको जस्तो लागेको थियो । उसले लेख्यो, यहाँ मसलाको भण्डार छ । सुनका ठूलठूला खानी छन् । इन्डियनहरु सोझा छन्, जे मागेपनि प्रतिरोध गर्दैनन्, खुरुक्क दिन्छन् । हामीलाई हाम्रा भगवानले अरूलाई दमन गर्ने आशीर्वाद दिएका छन् ।' तत्कालै कोलम्बसले ती सोझा मानिसहरूलाई समातेर जहाजमा कोच्यो । दुईवटा जहाजमा हालेर युरोप पठायो । तीमध्ये धेरैजसो बाटामै मरे । यिनीहरुलाई दास बनाएर बेच्न लगिएको थियो । त्यस उप्रान्त मानिसको व्यापार शुरु भयो ( जिन, २००३) । सन् १९८४ मा बर्लिन कन्फ्रेन्स द्धारा उपनिवेशवादको औचित्य पुष्टि गर्न प्रयोग गरिएका आधारहरुमा भनेको युरोपको भाषा, संस्कृति, धर्म सबै ठीक अरू ठाउँको बेठिक भन्ने दुष्प्रचार गर्नु ।युरोप मात्र सभ्य समाज हो बाँकि सबै घिनलाग्दा हुन् । संसारका अरू सबै ठाउँमा बर्बर र असभ्य जमात छ । उनीहरूका संस्कृति अन्धविश्वास र परम्परावादी हुन्छन्, युरोपीय मान्यता मात्र आधुनिक हुन् । यही 'न्यारेटिभ' आज पनि यथावत् छ, यही न्यारेटिभले आज पनि आसन गर्छ । दमन र अत्याचारको बर्बरता दक्षिण अफ्रिकामा गोराहरूले काला जातीहरू माथि गरेको शोषण र अत्याचारले आजका दिनमा पनि झस्काउँछ । आज विश्वमा युरोपले गरेको अत्याचारलाई लुकाइएको छ । हामीहरु निर्मित मान्यताहरू बाट निर्देशित भैरहेका छौं ।
उपनिवेश बनाइएका देशको बौद्धिकता, ज्ञान, प्रविधि, सिद्धान्तलाई सबै कुरालाई ट्रेडेस्नल र युरोपेली ज्ञान, औषधि, प्रविधि, सिद्धान्तलाई आधुनिक भनिदिए । त्यसैगरी उपनिवेशी शासक 'आधुनिक' र दमन गरिएका जनता 'परम्परावादी' भनिए । यसरी उपनिवेशमाथि दमनको आधार निर्माण गरियो । उपनिवेशको अतिक्रमण राजनीतिक र आर्थिक मात्र थिएन, त्यो सांस्कृतिक पनि थियो ।उपनिवेश बनाईएका जनताको दिमाग युरोपेली राष्ट्रका न्यारेटिभ निर्माण गर्न सक्नु पश्चिमी साम्राज्यवादको दीर्घायुको आधार हुन्थ्यो । उपनिवेश समाप्त भएता पनि मानसिक उपनिवेश यथावत् छ । अक्सफोर्ड विश्वविद्यालयलाई संसारकै उत्कृष्ट विश्वविद्यालय मानिन्छ ।वास्तवमा अक्सफोर्ड आफैँमा एउटा शहर नै बनेको छ ।यसका गिर्जाघर (चर्च) जस्ता अनेकौं भब्य भवनहरूले जुन रोनकता निर्माण गरेका छन्, त्यप अनुपम र अद्वितीय छ । तर यस विश्वविद्यालयको अपरम्पार वैरभावपछि एउटा ब्रिटिस व्यापारीको नाम जोडिएको छ ।
इतिहासमा ती व्यक्ति अक्सफोर्डका 'आधारशिला' बनेरहेका छन् । यो यथार्थता धेरैलाई थाह छैन । उनि सोसल रोड्स हुन् । त्यसबेलाको अक्सफोर्ड साम्राज्यवादलाई बौद्धिक खुराक दिने वैचारिक ढुकुटी थियो । यहाँ हरेक दिन विद्धानहरुका व्याख्यान आयोजना हुन्थे । १७ वर्षको उमेरका घर छोडेर २१ वर्षमा हीरा व्यापारीका रूपमा अथाह सम्पत्ति कमाएका सेसिल रोड पनि एक दिन व्याख्यान सुन्न अक्सफोर्ड पुगे । व्याख्यान सुनेपछि उनको दिमागमा पनि बेलायतलाई संसारको मालिक बनाउने सपना जागृत भयो । त्यसपछि उनले 'कन्फेस अफ फेथ' भन्ने पुस्तक लेखे । उनले त्यस पुस्तकमा लेखे 'म यकिनका साथ दाबी गर्छु, हामी (ब्रिटिश/युरोपेली) विश्वका सबैभन्दा उत्कृष्ट वा प्रथम जाति हौं' ।
उपनिवेशवादका तीनवटा खुट्टाहरु थिएः १) पुँजीवाद २) जातिवाद र ३) धर्म क्रिस्चियानिटी । यीनै मान्यताहरु आधार बनाएर सेसिल रोड्समा साम्राज्यवादी सपना जागृत भयो । त्यसपछि उनले प्रतिज्ञा गरे, 'अब म ब्रिटिस साम्राज्यको विस्तारमा लागिपर्नेछु ।' उनी त्यसपछि जातिवादी संसार निर्माणमा लागे । उनले लेखेको त्यो कृति कुख्यात जाति वा नश्लवादी अभियानको दस्तावेज बन्यो । आज अक्सफोर्ड विश्वविद्यालयको अघिल्लो भागस्थित (फासेड) मा सेसिल रोड्सको भिमकाया शालिक छ । अक्सफोर्ड सोसेल रोड्स जस्ताको धनमा उभिएको त्यस्तो संस्था हो जुन साम्राज्यवादको दिमागका रुपमा उम्रिएको थियो । रोड्स अफ्रिका पुग्यो र बोत्स्वाना पुग्यो। उसले त्यहाँ हीराका ९० % खानी कब्जामा लियो । त्यतिले मात्र नपुगेर उ पूर्वतर्फको अभियानमा लाग्यो। उनले जिम्बाब्बे कब्जा गर्यो १५ सय 'म्याथआमिली' जनजातिका मानिसहरूलाई रोड्सले मेशिनगनले भुट्यो। देशको नाम आफ्नो नाममा परिणत गर्यो । जिम्बाब्बे अब रोडेसिया बन्यो । अक्सफोर्ड विश्वविद्यालयको विशाल रोड्स भवन उसैले दिएको दानबाट बन्यो। त्यहाँ उसले भिमकाया शालिक जिम्बाब्वेका जनताको रगत कुल्चिएका पैतलाले टेकेर उभिएको छ । यस्तै किसिमको साम्राज्यवादी अभियानले सम्पूर्ण अफ्रिकालाई युरोपेली पैतलामुनि पुर्यायो । फ्रान्स, बेल्जियन, जर्मनी, नेदरल्यान्ड्स, बेलायत र पोर्चुगलका साम्राज्यवादी शक्तिहरूले अफ्रिकालाई निर्दयतापूर्वक ध्वस्त पारे । त्यहाँका खनीहरूमाथि कब्जा गरे। तर रोड्सले भन्यो, ' हामी जहाँजहाँ गयौं र कब्जा गर्यौं ती ठाउँहरु उन्नत भए, मानिस सभ्य भए (रोड्स, १८७७) । उपनिवेशकालमा अहिलेको भारतको पश्चिम बंगालमा ब्रिटिश शासकहरुले गोदाममा रासन लुकाएर राखेका थिए । भारतमा भोकमरी छ, अनाज उपलब्ध गराउ भनि मानिसहरु कराए।
बंगालमा भोकमरीले ३० लाख मानिसहरूले ज्यान गुमाए । बेलायतको संसदमा समेत यो कुरा उठ्यो । तर तत्कालीन प्रधानमन्त्री विन्स्टन चर्चिल मानवीयताको आर्तनाद सुन्ने पक्षमा थपिएनन् । सन् १९४३ को बंगालको अनिकाल चर्चिलको जातीय वा नश्लीय मानसिकताको परिणाम थियो। मधुश्री मुखर्जीको अनुसन्धानमूलक पुस्तक 'चर्चिल सिक्रेट वार'ले यस यथार्थलाई एउटा सर्वाङ्ग नाङ्गो चित्रका रुपमा दुनियाँका अगाडी राखिदिएको छ । सन् १९४१ सम्म आइपुग्दा नै भारतमा खाद्यान्नो अभाव भइसकेको थियो । तर उपनिवेशी अधिकारीलाई यसको कुनै सरोकार थिएन । भारतमा उत्पादन भएका अनाज, कपडा, उनी, छाला र सबै औद्योगिक सामग्रीहरु सेनाको प्रयोगका लागि बजारबाट जबर्जस्ती उठाइएका थिए। सन् १९४१ देखि नै अनेक कारणले खाद्यान्नको अभाव देखिएको थियो । त्यसलाई बेवास्ता गर्दै ब्रिटिस उपनिवेशी शासकले बंगालको ढुकुटीमा राखिएका खाद्यान्न भारतबाट ब्रिटेन लैजान थाले।
बंगालमा पर्ने सक्ने त्यो प्रलयकारी अनिकाललाई देखेर भारतमा शासन गर्ने ब्रिटिश अधिकारीले केहि खाद्यान्न भारत ल्याउने ब्यवस्था त मिलाए तर ब्रिटिश प्रधानमन्त्री चर्चिलले यो आपूर्तिलाई भारत आउन नदिएर युरोपमा सैनिक प्रयोगका लागि फर्काए । त्यसैले उनि माथि मानवीयता विरुद्धको गम्भीर अपराधको आरोप पनि लगाउने गरिएको छ । उनले भनेका थिए, "अनिकाल परेपनि नपरेपनि भारतीयहरु खरायोले झैँ सन्तान जन्माउँछन्" (चर्चिल २०१७) । बंगालको अवस्था यति प्रलयकारी थियो कि त्यो १३/१४ औं शताब्दीको युरोपको प्लेगले सिर्जना गरेको अवस्थाभन्दा पनि नाजुक र हृदयविदारक थियो। मानिसहरू झारपात उसिनेर झोल खाई बाँच्ने अवस्थामा पुगेका थिए । सडकमा मरेका मानिसहरूको खात लागेको हुन्थ्यो । तिनिहरूलाई उठाएर जलाउन वा गाड्न सक्ने तागत जिउँदा मानिसमा थिएन । कतिपयले भोक सहन नसकेर आत्महत्या गरे । हजारौं महिलाले शरीर बेचेर एकछाक खानाको जोहो गरे । यो त्रासदी एउटा भयानक प्रलयजस्तो थियो। त्यसको प्रमुख स्रोत थियो, चर्चिलको नश्लवादि सोचले निर्माण गरेको गरिब भारतीयप्रतिको नश्लीय घृणा।
दोस्रो विश्वयुद्धको ठीक अगाडिबाट जर्मनीमा यहुदीहरु, जिप्सीहरु एवं रोमहरूको हत्या ग्यास च्याम्बरमा हालेर भइरहेको थियो । यसो गर्ने शासक एडोल्फ हिटलर थियो। उसले लाखौं निर्दोष यहुदीहरुलाई साम्यवादी भएका कारण नश्लीय मान्यता अपनाएर मार्यो । त्यसबेला बंगालको सडकमा मानिसहरु भोकले मरिरहेका थिए । उनीहरूले खाने खाद्यान्न ब्रिटेन लगियो । हिटलर र चर्चिल दुवै नश्लको विभाजनमा विश्वास गर्थे, मानवताको होइन । तर उनीहरू आपसमा युद्ध गरिरहेका थिए । उनीहरूको उद्देश्य निर्बाध लुटका लागि एकले अर्कालाई हटाउनू बाहेक केही थिएन । मधुश्री मूर्खजीको भनाइ छ, 'चर्चिलले भारतलाई तत्काल आवश्यक जीवन बचाउने गहुँ आपूर्ति गर्नु त कता हो कता उनी भारतबाट युद्धका लागि धमाधम चामल लण्डन लगिरहेका थिए (मुखर्जी, २०१०) । उनले भनेकी छन्, "चाहेको भए वर्चिलले ३० लाक मानिसहरूको जीवन जोगाउन सक्ने थिए ।" एउटा रोचक तथ्य के छ भने ब्रिटिस उपनिवेशको भारतलाई कब्जा गर्नु अघि भारत संसारकै सम्पन्न भूभागमध्ये दोस्रो स्थानमा थियो । सन् १७०० मा विश्वमा चीनको जीडीपीको हिस्सा २३% र भारतको २२ प्रतिशत थियो । त्यसैसमयमा सम्पूर्ण युरोपको जीडीपीको हिस्सा २३ प्रतिशत थियो। सन् १८९० को दशकमा आइपुग्दा भारतको विश्व जीडीपी हिस्सा ११ प्रतिशत झर्यो। सन् १८९० देखि १९५२ आइपुग्दा युरोपकै कारणले दुईवटा प्रलयकारी युद्ध भए । युद्धका कारणहरू नितान्त युरोपेली साम्राज्यवादी शक्ति थिए । तर युद्धका लागि चाहिने धन एसिया र अफ्रिकाबाट लुटियो । यहाँका हेरक बस्तु लुटिए।
जातीयता र छुवाछूत भारत, नेपाल र चीनमा पनि थिए। यी देशका मानिस लाई तल्लो जातमा राखि उनीहरूमाथी अत्याचार गरिएको थियो । तल्लो जातका भनिएका ती मानिसको हत्या गरिएको थिएन । तर युरोपले लाखौँ मानिसको सामूहिक हत्या गर्यो र नश्ल उन्मूलन गर्यो किनभने ती मानिस उनीहरू जस्ता थिएनन्। सन् १४०१ देखि १५०० सम्म युरोपेलीहरु मुकतः दासहरुको व्यापार गर्थे। उनीहरूले अमेरिकालाई आफ्नो अधीनमा लिएपछि खेती गर्ने हली गोठालाको अभाव पूर्ति गर्न मानिसहरूलाई जबरजस्ती समातेर दास बनाई उनीहरूको व्यापार थाले ।
नाजीवादको उत्पत्ति रातारात भएको थिएन । त्यसको पृष्ठभूमिमा नश्लीय सर्वौच्चताको अहंकारको मनोग्रन्थि थियो जसले मानिसलाई नश्लका आधारमा विभाजन गर्दै आफैंले असभ्य भनी घोषणा गरेका मानिसमाथि अत्याचार गर्दा हुन्छ भन्ने सिद्धान्त प्रतिपादन गर्यो । यसै मनोग्रन्थिका कारणले कंगोलाई आफ्नो नियन्त्रण लिएर लियोपोल्ड द्धितीयले त्यस भूमिलाई निजी सम्पत्तिका रुपमा ग्रहण गर्यो । धन जम्मा गर्नु उसको एकमात्र अभीष्ट थियो । बेल्जियमको यो राजा साँच्चिकै क्रूर मानिस थियो। कंगोमा रबर उत्पादनको प्रचुर स्रोत थियो । त्यसैले असीमित मात्रामा रबर उत्पादन गर्न उसले ठूलठूला श्रमिक शिविरहरू निर्माण गरी प्रत्येक व्यक्तिले उत्पादन गर्नुपर्ने मात्राको हद तोक्यो। जति तोकिएको मात्रा थियो त्यति पुरा नगर्ने मजदुरको हात काटिन्थ्यो वा उसका परिवारका सदस्यहरूलाई बन्धक बनाइन्थ्यो । युरोपेली शासकहरु धूर्त थिए। सबै युरोपेली साम्राज्यवादी राष्ट्रको एउटै रणनीतिक प्रवृत्ति थियो । उनीहरू असल मानिसका रूपमा प्रस्तुत भएर सम्झौता गर्थे। उनीहरूसँग पर्याप्त आधार निर्माण भएपछि तीनै सम्झौताको गलत व्याख्या गर्दैं आफ्नो सार्वभौम अधिकारको दाबी जमिनमाथि गर्थे । उनीहरू यो आधार दुईवटा तत्वद्धारा निर्माण गर्थे । १) उनीहरू विस्तारै सैनिक शक्ति निर्माण गरि आफ्नो अवस्था मजबुत बनाउँथे। २) स्थानीय जनतामा सांस्कृतिक, भाषिक तथा धार्मिक विविधताका आधारमा द्वन्द्व निर्माण गरेर विभाजनको धर्को कोरी उनीहरूलाई कमजोर बनाउँथे।
ईस्ट इन्डिया कम्पनीले भारतमा यीनै रणनीति ग्रहण गरेको थियो (थरुर, २०१६) । १६ औं शताब्दिदेकि नै युरोपमा ज्ञानको पुनरुत्थानको युग शुरु भएको भनेर मानिन्छ। १८औं शताब्दिसम्म आईपुग्दा त युरोपले आफुलाई सभ्य र सुसंस्कृत भएको जनायो । त्यतिमात्र होईन, अफ्रिकालाई आदिम वा जंगली मानिस बसेको ठाउँ भनेर घृणाको बीउ पनि छर्यो । पूर्वलाई समेत 'परम्परावादी' भन्यो । जेसुकै भनेपनि मानवतावाद एसियामा एवं अफ्रिकामा व्यापक मात्रामा थियो। युरोपेली ज्ञान र सांस्कृतिक प्रणालीमा 'विज्ञान' त जन्मियो तर त्यहाँ मानवता हुर्कन सकेन । त्यसैले युरोपेली राजनीति र संस्कृतिमा नश्लीय सर्वौच्चताको 'अहंकार' जन्मियो। अनि यही अहंकारबाट उपनिवेश जन्मियो। यही अहंकार बाट साम्राज्यवाद जन्मियो । र, यही अहंकारबाट हिटलरको नाजीवाद पनि जन्मियो। यही अहंकारबाट प्रथम र दोस्रो विश्वयुद्ध जन्मिए।
स्थानीय संस्कृतिलाई ध्वस्त पार्नु उपनिवेशवादको अर्को रणनीतिक उद्देश्य थिए । उनीहरू चाहन्थ्ये अफ्रिकीहरूलाई युरोपेली संस्कृतिमा ढाल्न सकियो भने उपनिवेशवादका विरुद्ध प्रतिरोधको सम्भावना कमजोर हुन्छ। त्यसका लागि सबैभन्दा महत्वपूर्ण रणनीति बन्यो रैथाने अफ्रिकी जनतालाई क्रिस्चियन बनाउनु । यसले युरोपेली जनसंख्यालाई पराई देख्ने अफ्रिकी मनोविज्ञानलाई विस्थापित गर्न सकिन्थ्यो । अर्को रणनीति थियो, उनीहरूको भाषा र भेषभूषा ध्वस्त पार्नु । भाषा र भेषभूषाको उन्मूलनले मानिसलाई इतिहाससँगको आबद्धताबाट अलग गर्दछ भन्ने उनीहरूले राम्रोसँग बुझेका थिए। फ्रान्सेली उपनिवेशका विषयमा प्राध्यापक लान्सी भन्दछन्, "फ्रान्सेली उपनिवेशभित्रका देशहरुमा प्राथमिक स्कूलमा मातृभाषा हटाएर फ्रान्सेली भाषा लागू गरियो। र यो भाषालाई सरकारी भाषा बनाइयो।" युगाण्डालाई बेलायतले सन् १८४९ मा कब्जामा लियो।
सन् १९६२ सम्म युगाण्डा उपनिवेशका रुपमा रह्यो। ब्रिटिसहरू चलाख थिए। उनिहरुले पूर्वरूपमा कब्जा गर्न सम्भव नहुने थाहा पाएपछि युगान्डालाई संरक्षित राज्यका रुपमा राख्ने कानुन बनाए । युगाण्डालाई कब्जामा लिनुको मुख्य कारण त्यहाँको कटन (कपास) थियो । युगाण्डाको उन्नत कपास बेलायतले आफ्नो देश लैजान्थ्यो । कफी उत्पादन अर्को महत्वपूर्ण व्यापारका रुपमा उदायो। विस्तारै युगाण्डा गरिबीको चंगुलमा पर्यो । जर्मनीको मुख्य उपनिवेशको केन्द्र थियो नामीबिया । नामीबियामा जर्मनीले गरेको सामूहिक हत्याको इतिहास अहिले ताजै छ । यो सामूहिक हत्या नाजीवादको पहिलो अध्याय थियो । सामूहिक हत्यालाई सन् १९०४-७ को 'जर्मन हेरेरो' द्वन्द्वका नामले इतिहासमा जानिन्छ। जर्मन उपनिवेश विरुद्ध हेरेरो जनताले प्रतिरोध गरेपछि जर्मन उपनिवेशी सेनाले 'कन्सन्ट्रेसम क्याम्प' निर्माण गरि हजारौं मानिसहरूलाई त्यस क्याम्पमा राख्यो। ती क्याम्पमा नाजी जर्मनीले यहुदीमाथि गरेको सामूहिक हत्याकै ढाँचामा नामीबियाको हेरेरो जातिका मानिसहरुको नियोजित हत्या गरिएको थियो।
यस सामूहिक हत्यामा हेरेरो जातिका ७५ प्रतिशत जनताको हत्या गरियो। (जर्मन-हेरेरो द्वन्द्व, १९०४) केन्यामा ब्रिटिस साम्राज्यले गरेको सामूहिक हत्या दर्दनाक छ ।केन्यामा सन् १८९० मा 'इम्पिरियल ब्रिटिश ईस्ट अफ्रिका कम्पनी' पहिलो पटक केन्यामा आयो। यो व्यापारिक कम्पनी थियो। यसले व्यापारिक क्याम्पहरू निर्माण गर्यो र व्यापारिक सम्झौताहरु गर्न शुरु गर्यो। यो नै उपनिवेशको प्रारम्भ थियो। केन्यामा किकुयु जातिले आरम्भ गरेको सशस्त्र विद्रोहलाई माउमाउ विद्रोह भनिन्छ । यो विद्रोह उनीहरूले आफ्नो जमिनका लागि गरेका थिए किनकी ब्रिटिश उपनिवेशी शासकले उनीहरूको जमिन खोसेको थियो। सन् १९५० को दशकमा केन्याको माउमाउ समुदायले उपनिवेशी शासक विरुद्ध गरेको विद्रोह दमन गर्न ब्रिटिस साम्राज्यले करिब ९० हजार केन्यालीको हत्या गरेको ह्युमन राइट्स कमिसनले अनुमान गरेको छ । एकलाख साठ्ठी हजारलाई गैरकानुनी थुनामा राखिएको थियो ।जेलभित्र उनीहरूलाई यातना दिने, बलत्कार गर्ने र नपुंसक बनाउने जस्ता घटनाहरु सामूहिक रुपमा गरिएका थिए। लगभग ५० वर्ष पछाडि ब्रिटिस विदेश सचिवले त्यस घटना प्रति क्षमा याचना गरी क्षतिपूर्ति दिने घोषणा गरेका छन्।
सन् १९१५ मा फ्रान्सको आइपर्स वरिपरि करिब ३० हजार नेपाली ( गोर्खा) सैनिकहरु तैनात गरिएका थिए। हिउँ परिरहेको थियो, तर उनीहरूलाई एउटा पातलो गन्जीमात्र दिइएको थियो। त्यसैले गोर्खा सैनिकको भित्रबाट दौरा सुरुवाल लगाई बाहिरबाट सैनिक गञ्जी लगाएका थिए । दुई हप्ताभित्र यहाँ करिब २० हजार गोरखा सैनिकहरू मारिए। तर युद्ध लडाउने ब्रिटिस सरकारले उनिहरुको लाश टिपेर को मारिएका थिए भन्ने एकिन गर्न समेत आवश्यक ठानेन किनकी उनीहरूको नजरम मरेका गोर्खा सैनिक मानिस नै थिएनन् उनीहरू जंगली/ असभ्य समाजका मानिस थिए। त्यस युद्धमा 'ह्वाइट म्यान्स बर्डन' जस्तो असभ्य कविता लेखेर चर्चित भएका रडयार्ड किपलिङको छोरा पनि मरेको थियो। उ गोरो अभिजात्य वर्गको भएकोले उसको लाश खोज्न एउटा आयोग नै गठन भएको थियो, भलै भेट्न भने सकेन।
पुस्तकमा लेखकले अफ्रिकाको लुट कसरी मिलीजुली भागबन्डामा गरे भनेर विस्तृत रुपमा लेखेका छन्। युरोपका साम्राज्यवादी देशहरूले सन् १८८४ मा बर्लिन कन्फ्रेन्स समेत गरे । यो 'कन्फ्रेन्सको आयोजना अफ्रिकी देशहरू वा भूगोलको अतिक्रमण र अधीनता प्राप्त गर्ने क्रममा आपसमा युद्ध नहोस भनी मिलिजुली भागबण्डा गर्ने प्रयोजनका लागि गरिएको थियो । अमेरिकी आदिवासीको सामूहिक हत्या र उपनिवेश कोलम्बसको 'अमेरिकी अभियान'लाई 'कोलम्बसले अमेरिका पत्ता लगाउने खोज वा अभियान' भन्ने गरिन्छ, तर यसो भन्नु त्रृटिपुर्ण हुन्छ। वास्तवमा यो अभियान अमेरिकी आदिवासी माथिको 'बर्बर आक्रमण' थियो।
अमेरिकन बिद्धान तथा दार्शनिक नोम चोम्स्कीको विचारमा सन् १४९२ को घटना पश्चिमी गोलार्द्धका लागि एउटा ठूलो प्रलयकारी एवं दुर्भाग्यपूर्ण घटना थियो। उनि भन्छन्, "यस्तै समानान्तर अर्को घटना मानव सभ्यताको इतिहासमा पाइँदैन।" गजबको कुरा केछ भने महासागरमा जादैगर्दा कहाँ आइपुगियो र कुन ठाउँ थियो भनी कोलम्बसलाई थाह नै थिएन। हावर्ड जिनले आफ्नो पुस्तक 'द पिपुल्स हिस्ट्री अफ अमेरिका'मा लेखेका छन्, 'कोलम्बसलाई लागेको थियो ऊ सुनको खानी एसियामा आइपुगेको छ । त्यसैले ऊ कयुवालाई दक्षिणपूर्व एसिया र हिस्पानोलियालाई चीन ठानिरहेको थियो। उसले स्पेनका राजालाई लेखेको चिठ्ठीमा सोहि कुरा उल्लेख गरेको छ। भारत खोज्दै हिडेको कोलम्स नयाँ भूमिमा पुगेर त्यहाँका राजालाई 'इन्डियन' भनी नामकरण गर्यो। यथार्थमा उनीहरू त्यहाँका आदिवासी थिए। अमेरिकामा आप्रवास गर्ने युरोपेलीहरूले आफूलाई अमेरिकी भन्छन् अनि जो मानिस त्यस धर्तीका आदिवासी अमेरिकी थिए, उनिहरुलाई युरोपेली आप्रवासीले 'इन्डियन' वा 'हिस्पेनिक' बनाईदिएका छन्।
५०० वर्ष पछाडि कोलम्बसको यो त्रृटिलाई स्प्रष्ट पारिएको छ। तर दुर्भाग्य, ती खास अमेरिकीलाई आज पनि 'इन्डियन' भनिन्छ र युरोपेली आप्रवासीहरु अमेरिकी भएका छन् (डियत्रिरव १९९९) । कोलम्बस अमेरिकामा आउनुपूर्वदेखि अमेरिकामा आदिवासी अमेरिकी जनता बसोवास गर्थे। यो उनीहरूको आफ्नो मातृभूमि थियो। ती आप्रवासीले उनीहरूलाई 'इन्डियन' बनाए। अनि आप्रवासी गोरा युरोपेलीहरु अमेरिकी हुन पुगे। जसको देश थियो अमेरिका उनीहरू अमेरिकी भएनन् उनीहरूलाई त 'रेड इन्डियन' भनियो। जो अतिक्रमणकारी थिए, उनीहरू अमेरिकी बन्न पुगे। इतिहासमा यो एउटा मजाकपूर्ण विडम्बनाको रूपमा रहेको छ। ब्रिटिस साम्राज्यवादको अन्य देशलाई कब्जामा लिएर लुट्ने 'काईदा' सबैतिर प्रायः एउटै किसिमको छ। कम्पनी बनाएर व्यापारीहरूलाई सबैतिर पठाउने, राज्यको सार्वभौमसत्ता आफ्नो हातमा लिने र अन्त्यमा राज्यलाई नै आफ्नो कब्जामा वा अधीनमा राख्ने । उत्तर अमेरिकालाई पनि कब्जामा लिँदा पनि त्यही काइदा अवलम्वन गरिएको थियो।
सन् १६२९ मा ब्रिटिश राजाबाट 'चार्टर टु म्यासाच्युट्स बे कोलोनी' नामको वडापत्र जारी भयो।यस वडापत्रले रैथाने अमेरिकालाई क्रिस्चियन धर्मामा परिणत गर्ने अख्तियारी पनि प्रदान गर्यो। अमेरिकामा उपनिवेश निर्माण गर्नका लागि प्रवेश गरेका गोरा युरोपेलीहरुले अमानवीय अपराध गरे। उनीहरू अमेरिका आए र प्रतिरोध गर्ने आदिवासीहरूको सामूहिक हत्या गरे। अनेक किसिमका सम्झौता गर्दै उनीहरूको जमिनमा आफ्नो अधीनता प्राप्त गरे त ती सम्झौताको उल्लंघन गर्दै उनीहरूमाथी विश्वासघात पनि गरे। तर उनीहरूले यी सबै अत्याचारलाई इतिहासमा राम्रोसँग लुकाएका छन्। इतिहासकारहरुको अनुमान के छ भने जुन समयमा युरोपेली आप्रवासीहरु अमेरिकामा आएका थिए, त्यसबेला अमेरिकाको जनसंख्या एक करोड थियो। सन् १९०० मा उनीहरूको जनसंख्या तीन लाखमा झर्यो । अमेरिकामा आदिवासीमाथि नश्ल उन्मूलन हुने गरी नियोजित ढंगले हिंसाका घटनाहरू गराइए । सन् १८०० मा बिफर रोगीले प्रयोग गरेका कम्बलहरू आदिवासीलाई वितरण गरियो। यो जानाजानी आदिवासीहरूमा बिफर रोगको महामारी फलियोस् भनी गरिएको थियो (होलोकास्ट म्युजियम) ।
Cont...
Comments
Post a Comment
Request you not to enter any spam link in the comment box.